FAQs Complain Problems

संक्षिप्त परिचय

Body: 
अर्जुनधारा नगरपालिकाको परिचय पृष्ठभूमी नेपालको कोशी प्रदेश अन्तर्गत झापा जिल्लाका आठ नगरपालिका र सात गाउँपालिका मध्ये अर्जुनधारा नगरपालिका झापा जिल्ला निवाचन क्षेत्र नं. २ मा पर्दछ । यो नगरपालिकाको पूर्वमा झापा जिल्लाकै बुद्धशान्ति गाउँपालिका तथा मेचीनगर नगरपालिका, पश्चिममा कन्काई नगरपालिका तथा इलाम जिल्लाको माइ नगरपालिका, उत्तरमा इलाम जिल्लाको माइ नगरपालिका तथा रोङ गाउँपालिका र दक्षिणमा झापा जिल्लाकै विर्तामोड नगरपालिका पर्दछ । अर्जुनधारा नगरपालिका प्राकृतिक तथा सांस्कृतिक सम्पदा, साधन श्रोतमा तलनात्मक रुपमा सम्पन्न रहेको छ । यो अर्जुनधारा नगरपालिकामा साविक शनिश्चरे, अर्जुनधारा र खुदुनावारी गाविसहरु समावेश गरिएकाछन। यस नगरपालिकाको जम्मा क्षेत्रफल १०९.८६ वर्ग किलोमिटर छ भने राष्ट्रिय जनगणना २०७८ अनुसार जम्मा जनसंख्या ८४०१८ रहेको छ भने जम्मा घरधुरी २०९३५ रहेकाछन । बसोवासका हिसावले यस नगरपालिकामा विभिन्न जात जातिहरु रहेको छन् जसमाः ब्राम्हण,क्षेत्री लिम्बु, कामी,राई तामाङ मगर दमाई नेवार तथा सन्यासी आदि पर्दछन । पहाडी भुभाग संग जोडिएको यो नगरपालिका पुर्ण रुपमा पुर्वपश्चिम राजमार्गको उत्तरमा पर्दछ । यो नगरपालिकाको उत्तरी क्षेत्रमा रहेको वनजंगलका कारण पानीका प्रशस्त श्रोतहरु रहेकाछन, यो नगरापलिका वडा नं २ खानेपानीको मुख्य श्रोतको रुपमा परिचित सहकाले झरना पर्यटकीय हिसावले पनि उत्तिकै महत्वपूर्ण रहेकोछ । चिया सुपारी नरिवल मरिच तथा रवर जस्ता नगदेवाली को व्यवसायिक रुपमा खेति गर्ने यो नगरपालिकामा पशुपालन तथा विभिन्न तरकारी खेतीको पनि प्रशस्त सम्भावना रहेको छ । यस नगरपालिकाको मध्ये भागमा विभिन्न खाद्यवाली जस्तै धान, गहुँ, मकै, एवम तरकारी खेतीको प्रशस्त संभावना रहेको छ । यो नगरपालिकामा बाह्रै महिना वगिरहने विरीङ टाङटिङ नेते सुखानी जस्ता खोलाहरु रहेकाछन यी खोलावाट ढुंगा गिट्टि वालुवा विक्रि गरेर नगरपालिकाले करोडौ आम्दानी गरिरहेको छ भने यसलाई केहि व्यवस्थित गर्न सके यो आम्दानी दोव्वर हुने अवस्था छ । यीनै खोलाले एकातर्फ आम्दानी गरिरहेको छ भने अर्को तर्फ तटवन्ध नभएको क्षेत्रमा कटान गरी व्यापक रुपमा क्षती पनि पुर्याएकोछ यो क्षेत्रको तटवन्ध लाई व्यवस्थित गर्न सके खोलावाट नै धेरै आम्दानी सकिने अवस्थाछ । सुगम क्षेत्र राम्रो हावापानी, पहाड र तराइको संगम प्रसस्त पर्टकीय स्थलहरु भएका कारण यो नगरपालिका मा व्यवसायिक संभावनाहरु धेरै छन । यो क्षेत्रमा कृषि तथा पशुपालनको पकेट क्षेत्रको रुपमा विकास गरी अधिकतम आम्दानी गर्न सकिन्छ । नामाकरण नेपालको पूर्वमा रहेको झापा जिल्लालाई चिनाउने ऐतिहासिक स्थल मध्येका झापाको खुदुनाबारीमा अवस्थित सहिद शाहदत स्थल (सुखानी), ऐतिहासिक शनिश्चरे बजार (झापा जिल्लाकै सवैभन्दा पुरानो वजार) र हिन्दु धार्मिक आस्थाको केन्द्र पूर्वको पशुपतिनाथले परिचित अर्जुनधारा यी तिनै स्थान पूर्व गाउँ विकास समितिका नामले परिचित थिए भने स्थानीय तहको पुनरसंरचना पछि पहिलो चरणमा शनिश्चरे र अर्जुनधारालाई समेटि २०७१ बैसाख २५ गतेको सरकारको निर्णय अनुसार शनिअर्जुन नगरपालिका र २०७३ चैत्र २७ गतेको स्थानीय पूनर्संरचना पछि खुदुनाबारी गाविसलाई समेत समेटेर यस क्षेत्रको पवित्र धार्मिक स्थलको नाममा यस नगरपालिकाको नामाकरण गरिएको हो । नगरपालिकाको नाम अर्जुनधारात ऐतिहासिक धार्मिक स्थल अर्जुनधारा जलेश्वर धामका नाम वाट राखियो अव स्वभाविक प्रश्न उठ्छ कि जलेश्वर धामकै नाम चाहि किन अर्जुनधारा रह्यो । यो ऐतिहासिक स्थलको नामाकरणको सम्वन्ध द्वापर युगको महाभारत कालीन कथा संग जोडिन्छ । महाभारत कथाका अनुसार पाँच पाण्डवहरु गुप्तवास वस्न विराट राजाकोमा गएका थिए त्यही अवस्थामा कौरव सेनाहरुले विराट राजाका गाईहरु हरण गरेर लगेपछि वृहन्नला (नर्तकी) को भेषमा वसेका अर्जुनले विराट राजकुमार उत्तरको सारथी भएर गएका तर उक्त समयमा उनीहरुको गुप्तवास सकिएको हुनाले र उत्तर कुमार युद्ध गर्न डराएर भागेपछि बृहन्नला (अर्जुन) ले उत्तरलाई सारथी वनाई कौरवहरु संग युद्ध गरेर जितेपछी गाइहरु सहित विराट राज्य तर्फ फर्कदै गर्दा यो स्थानमा आएपछि गाइहरु तिर्खाले ढल्न थाले । कहि कतै पानीक नभएको ले अर्जुनले धर्तीमा वाँड हाँनी पानी निकालेर गाइलाई खुवाएका थिए । अर्जुन विराट राज्यमा फर्किसकेपनि यो क्षेत्रको पानी सुकेन र स्थानीयले त्यसलाई संरक्षण गरि उपयोग गर्न थाले र त्यसलाइ सवैले चिन्ने गरि अर्जुनधारा नामाकरण गरे त्यही क्षेत्रमा ऐले ५ वटा धाराहरु निर्माण गरिएको छ र जलेश्वर धाम स्थापना गरिएको छ । यही नामले आज सम्म यो पुण्य भूमि परिचित रहेकोछ । भौगोलिक स्वरुप तथा सिमाना अर्जुनधारा नगरपालिका समुन्द्री सतहवाट ११८.८३ मिटर उचाईवाट सुरु भएर ४२८ मिटर सम्म फैलिएकोछ । क्षेत्रफलको आधारमा यो नगरपालिका झापा जिल्लाका कुल १५ वटा स्थानीय तह मध्ये अर्जुनधारा नगरपालिका पाँचौ ठूलो स्थानीय तह हो । यो नगरपालिकाले जिल्लाको ६. ७८% भु भाग अर्थात जिल्लको कुल १४८५.५७ वर्ग किलोमिटर मध्ये १०९.८६ वर्ग किलोमिटर क्षेत्र ओगटेकोछ । यो नगरपालिका मुख्य रुपमा दक्षिण पश्चिम मोहोडा फर्काएर उत्तर पूर्व तर्फ फैलिएको छ । यो नगरपालिकाको पूर्वमा झापा जिल्लाकै बुद्धशान्ति गाउँपालिका तथा मेचीनगर नगरपालिका, पश्चिममा कन्काई नगरपालिका तथा इलाम जिल्लाको माइ नगरपालिका, उत्तरमा इलाम जिल्लाको माइ नगरपालिका तथा रोङ गाउँपालिका र दक्षिणमा झापा जिल्लाकै विर्तामोड नगरपालिका पर्दछ । यो नगरपालिका इलाम जिल्लाको २ र झापा जिल्लाका ४ वटा स्थानीय तहसंग जोडिएकोछ । श्रोतः नगर विकास आवधिक योजना (८०-८५)